Home » News » ‘म अघोरी कवि हुँ’
madhav ghimire

‘म अघोरी कवि हुँ’

Shares

‘म अघोरी कवि हुँ’

madhav ghimire

शनिबार २०७५ असार २३ को कान्तिपुर कोसेली परिशिष्टांकमा परमश्रद्धेय शताब्दी युगनायक राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू उपचारार्थ भारतको हरियाणास्थित मेदान्त अस्पतालमा केही दिन रहेर स्वदेश फर्केको र प्रधानमन्त्री केपी ओलीजी प्रधानसेनापति राजेन्द्र क्षेत्रीजी ग्राण्डी अस्पतालका डा.चक्रराज पाण्डेलगायत असंख्य मित्रवर्गको सहयोग, सद्भाव एवं शुभकामनाले आफ्नो उपचार सफल भएको र  हाल घरैमा स्वास्थ्यलाभ लिइरहेको कुरा बताउनुभएको छ । ९९ वर्षीय राष्ट्रकवि आदरणीय घिमिरेज्यू आउँदो आश्विनको ६ गतेबाट सय वर्षमा पुग्नुहुनेछ । ‘शतायु पुरुष’को जीवन्त इतिहासलाई युगान्तकारी साहित्य साधक बन्दै दशौंदशकको युगनायकत्व : राष्ट्रभक्तित्वको अनुपम प्रेरणा सत्पात्र : लेखनाथजीका तरुणतपसी : विश्वका महान् कवि साहित्य साधकहरुको समश्रेणीत्वमा आफूलाई उभ्याएर– देशवासीलाई भन्नुहुन्छ– ‘म अघोरी कवि हुँ’

आफूले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ? अहिले भइरहेका काम के छन्  ?

म एउटा अघोरी कवि हुँ । कुनै सिर्जना स्फुरण भयो भन्दैमा म लेख्दिनँ । अथवा, लेखेर पनि प्रकाशमा ल्याउँदिनँ । अरूले बुझ्ने भएपछि, सहज लागेपछि मात्रै लेख्छु र बाहिर ल्याउँछु । कतिपय गीत पनि कैयौं दिन लगाएर लेखेको छु । ‘लाग्दछ मलाई रमाइलो’ गीत पनि ४ दिन लगाएर लेखेको हुँ । उसबेलाको फुलमार चुरोट धेरै उडाएपछि मात्रै यो गीत टुंगिएको थियो । ‘ऋतम्भरा’ महाकाव्यमा अब दुई सर्ग बाँकी छ, सोचाइ आइसकेको छ । अब केही महिनामा सायद शताब्दी उमेरको छेउछाउमा लेखिसक्छु होला । तत्काल भने अस्ति भर्खरै आएको लेखनाथ पौड्यालजीको जस्तो खण्ड–खण्ड रचना निकाल्ने सोचाइ (योजना) छ, साझा प्रकाशनले सहयोग गर्छु भनेको छ । यसमा ७ गीति नाटक, ७ काव्य, फुटकर रचनाहरू समेटिनेछन् । कवि घनश्याम कँडेल र वासुदेव त्रिपाठीले यो कृतिमा संयोजन÷सम्पादन गर्नुहोला भन्ने छ ।

अर्को बाहिरी विश्वले मलाई चिन्न सक्ने अबको कृति भनेको ‘अश्वत्थामा’ महाकाव्य पनि हो । यसको हिन्दी अनुवाद सकिएको छ । बाहिरी जगत्लाई पढाउनुपर्ने किताब हो यो । आजको अणु होड र शस्त्रअस्त्रको बारेमा मैले कवि चिन्ता सार्वकालिक हुनेगरी लेखेको छु । भाषविद् सनतकुमार वस्तीजीले यसको अनुवादलाई हेर्दै हुनुहुन्छ । यो कृति नेपाल–भारत बीपी कोइराला फाउन्डेसनबाट आउला भन्ने छ । विश्वप्रति एउटा कविको दृष्टकोण के हो भन्ने झलक यो काव्यले दिनेछ । अहिलेको विश्वको निम्ति सबैभन्दा ठूलो भय भनेको अणु आतंक हो । अणु विज्ञानबाट उपलब्धि पनि असाध्यै ठूलो भयो, आतंक र भय पनि उत्तिकै छ । अहिलेको समाज र वरपर प्रविधि केन्द्रित बन्दै गएको हो कि जस्तो लाग्छ । हृदय पक्ष शुष्क बन्दै पो गएको हो कि ? आज सबैतिर मस्तिष्क सक्रिय भयो तर हृदय भने निष्क्रिय । आजको प्रविधि र आधुनिकतामाझ हाम्रो अध्यात्म, नैतिकता, आचरण, संस्कृति कहींकतै हराइरहेको हो कि जस्तो लाग्छ । धेरैजसो बाहिरै दौडिएजस्तो लाग्छ, भित्र बिर्सेर । आफूलाई बिर्संदाको स्थिति यहाँ छ । देश, गाउँ, समाज छाडेर बाहिरीया बन्नेहरू देख्दा अझै दुःख लाग्छ ।

हो, अरूभन्दा एकदमै अलग र भिन्न शैली मैले आफ्नो सिर्जनामा हुर्काएको छु । मेरो यही विशेषता हो— रहस्यवाद । मैले लेखनाथलाई गुरु थापेकै हुँ, लक्ष्मीप्रसादको ‘मुनामदन’ राम्रो लागेको हो । पछि बनारसमा परीक्षा दिन जाँदा रवीन्द्रनाथ टैगोरको हिन्दी कविताको संग्रह भेटियो । त्यो पढेर म वशीभूत भएँ । रवीन्द्रभन्दा पनि अझ संक्षेपमा भावना अभिव्यक्त गर्ने भनेको कवि कालिदास हो । कासिदास र संस्कृतका अरू कविहरूका कारण मेरो कविता शैली बनेको हो ।

टैगोरलाई पढेपछि मैले ‘कविता भनेको यो रैछ’ भन्ने थाहा पाएको हुँ । संस्कृतको पढाइ आधार भएकाले मैले कालिदासलाई पनि खुबै पढें । एक पंक्तिपछि अर्को पंक्तिमा तुक मिलाएर, क्रमबद्धता राखेर लेख्ने शिल्पी मैले कवि कालिदासबाट पहिल्याएँ । ‘गौरी’ काव्यमा त्यस्तै एकपछिको अर्को सिलसिला र ‘क्लाइमेक्स’ लाई मैले जोडेको छु । ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ मात्रै भन्नु त एउटा सुक्ति मात्रै हो । त्यहाँबाट जोडिंदै ‘बिम्झौंला कहाँ पूर्वको पैलो उज्यालै नरहे’ भनेपछि मात्रै सिलसिला जोडियो, क्रमबद्धता पनि देखियो । यो ‘क्लाइमेक्स’ हो, अनि शैलीगत शृंखला पनि । सुक्तिमा अलिक अलंकार र्भयो र शब्दको लचकता थप्यो भने कविता हुन्छ । फेरि लेखाइ र बुझाइ दुवैमा ‘नेपाली हामी रहन्छौं कहाँ’ जस्तो अथवा ‘तराई हाम्रो सुनको टुक्रा, हिमाल हीराको’ जस्तो सामान्य र सरल हुनुपर्छ भन्ने मलाई लाग्छ । तर, गहिराइ भने अलग्गै हुनुपर्छ । कवितामा यो क्रम र सचेतता हुनैपर्छ सदैव ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super